महन्थ ठाकूरसँग प्रधानमन्त्री ओलीको यस्तो गोप्य सहमति भएछ


ओकेजनता डेस्क
२ चैत्र २०७७, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिबेला नेपाली राजनीतिको केन्द्रमा छ । वर्तमान सरकार जोगाउन, नयाँ सरकार बनाउने र मुलुकलाई मध्यावधिमा लिएर जानेजस्ता विभिन्न राजनीतिक विकल्पको चाबी जसपाको हातमा छ ।

आफ्नो सरकार जोगाउन प्रधानमन्त्री केपी ओली र नयाँ सरकार बनाउन प्रयासरत प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामात्र होइन, ओली नेतृत्वको सत्तालाई विस्थापित गर्ने अभियानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जसपाको साथ खोजिरहेका छन् ।

सत्ताको रस्साकस्सीका लागि भेटवार्ताले तीव्रता पाइरहेको छ । जसपामा पनि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सत्ता समीकरणबारे एकमत छैन । ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् भने यादव ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकूरका अनुसार तीन दलका नेतासँग हाम्रो पटक–पटक भेटघाट भएको छ । कहिले एक्लै, कहिले दुईजना, कहिले पाँचजना सँगै बसेर कुराकानी भइरहेको छ । सर्वप्रथम प्रधानमन्त्री ओलीजी (केपी शर्मा ओली) सँग कुराकानी भएको हो । ओलीजी सरकारमा हुनुहुन्छ ।

पहिला पनि उहाँ सरकारमा हुँदा संविधान संशोधन, नागरिकता, भाषा प्रतिनिधित्व सम्बन्धी र हामीहरुमाथि भएका मुद्दाका विषयमा उहाँहरु सहमत नै हुनुहुन्थ्यो । लिखित रुपमा पनि पत्र आदानप्रदान भएकै हो । हाम्रो दुईवटा प्रमुख मुद्दा छन्, एउटा टीकापुर घटनाको र अर्को महोत्तरीको जलेश्वर घटना प्रमुख हो । अरु साना साना मुद्दाहरु जिल्ला प्रशासन कार्यालयमा छन् । कतिपय मुद्दाको फैसला पनि भइसक्यो ।

चुनाव भन्दा अगाडि दुवैतर्फबाट टास्कफोर्स बनेको थियो । कति मुद्दा छन्, कति जनामाथि मुद्दा चल्यो भनेर गरिएको अध्ययनमा करिब १२ सय जनामाथि मुद्दा देखिन्छ । यी सबै मुद्दा एकसाथ फिर्ता लिने र राजबन्दीहरुलाई रिहा गर्नुपर्ने हाम्रो माग हो । नागरिकताको समस्या पनि समाधान हुनुपर्छ । ‘हाम्रा मागलाई कसैले पनि अस्वीकार गर्नुभएको छैन । यो त वास्तवमा देशको समस्या हो, तर यो मधेसको मात्र हो भन्ने प्रश्न आउँछ क्या ! मधेसले बारम्बार आवाज उठाएका कारण यसलाई मधेसको समस्याका रुपमा बुझिएको छ । यसको समाधानका लागि सबै सहमत हुनुहुन्छ । अर्को, हाम्रो सांसद रेशम चौधरी जेलमा हुनुहुन्छ । उहाँलाई सपथ ग्रहण पनि गराइयो । तर उहाँ निलम्बित हुनुहुन्छ । यसका साथै त्यही मुद्दामा अरु पनि जेल परेका छन् ।’

लोकतन्त्र खतरामा छ भन्छन् तर मधेसमा खै लोकतन्त्र ? मधेसमा लोकतन्त्र छ ? सामान्य जुलुस प्रदर्शन गर्दा र धर्नामा बस्दा मानिसले गोली खाएका छन् । एउटा मानिसको मूल्य दश लाख हो ? गोली हानेर मार्दा दश लाख लिन्छ, अरु के गर्छ र भन्ने सोचले गोली चलाएको छ । अत्याचार भएको छ । घरमा घुसेर महिलामाथि हातपात भएको छ । संस्कृतिमाथि आक्रमण भएको छ । संस्कृतिमाथि आक्रमण हुँदा भगवानले पनि माफी दिनुहुन्न । हामीमाथि यस्तो किसिमको आक्रमण भएको छ । यो सुन्दा पीडा हुन्छ । यो कसले ग¥यो त ? हाम्रै सरकारले गरेको हो । कुनै विदेशी सरकारले गरेको होइन । गोली लागेर मर्नेको परिवारले केही नपाउने र गोली चलाएर मार्नेले प्रमोशन पाउने ? विभेद त प्रस्टै देखिन्छ नि !

उहाँको तीन प्रस्ताव थियो । पहिलो, सरकारमा आउनुहोस्, मिलेर जाउँला । दोस्रो, सरकारमा आउन चाहनुहुन्न भने बाहिरैबाट हामीलाई समर्थन गर्नुहोस् । त्यो पनि भएन भने तपाईं अरुसँग पनि नजानुहोस् । तटस्थ बस्नुहोस् । तर हामीले हाम्रो एजेण्डा सम्बोधन भएपछि निर्णय गर्छौं भनेर भनेका छौं ।

प्रतिक्रिया दिनुहोस्