कांग्रेस, जसपा र माओवादीको यसरी बन्दैछ नयाँ सरकार


ओकेजनता डेस्क
१ चैत्र २०७७, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको प्रतिगामी सरकारको विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले अहिले पहिलो र तात्कालिक कार्यभार नै ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।

पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकमा शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेकाले पार्टी एकताले पूर्णता पाउन नसकेको निष्कर्ष सुनाएका हुन् ।

माओवादी केन्द्रका नेताहरुले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको पनि बताएका छन् ।

‘एकतापछि पार्टीमा क्रान्तिकारी प्रवृत्ति हावी गर्ने हाम्रो चाहाना थियो । तर यसमा प्रतिक्रान्तिकारीहरुले अनेक षड्यन्त्र गरे र अन्त्यमा पार्टी एकता नै भंग हुन पुग्यो । निर्वाचन आयोगले निर्णय गर्न लागेको बेलामा सर्वोच्च अदालतले माग्दै नमागेको फैसला सुनायो र एमाले र माओवादी व्युँत्यायो’ घटनाक्रमबारे नेताहरुले बैठकमा विश्लेषण सुनाएका थिए ।

बैठकमा बोल्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अधिकांश नेताहरुले क्रान्तिकारी पार्टी बनाउन खोजेपनि केपी ओलीले क्रान्तिकारी पार्टी बन्ने देखेर लगातार आक्रमण गरेको नेताहरुले ब्रिफिङ गरेका छन् । नेताहरुले यस्तो आक्रमणले कम्युनिस्ट आन्दोलनको एकीकरण वा विकास र अग्रगमनको यात्रामा बाधामात्र नभएर घट्नाक्रमहरुले बैदेशिक हस्तक्षेपसँग पनि सम्बन्धित भएको पुष्टि गरेको बताएका छन् । ‘नेपालको सवै प्रक्रियामा आफ्नो स्वामित्व हुनुपर्छ भन्ने विदेशी शक्तिको चाहना छ ।

नेपालका कम्युनिष्टहरु मिलेपछि त्यो चाहाना पुरा नहुने भएपछि केपी ओलीलाई निमित्त नायक बनाइयो । संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षताको विरोधमा प्रतिक्रान्तिकारीको नयाँ नायक खोजेर ल्याइयो’, प्रवक्ता श्रेष्ठले बैठकमा विश्लेषण गर्दै भने, ‘अब हाम्रो पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनु हो ।’

बैठकमा ओली नेतृत्वको सरकार विस्थापन गर्न माओवादी केन्द्र एक्लैले गर्न नसक्ने भएकाले खासगरी नेपाली काँग्रेस र जसपासँग सहकार्य गर्न जरुरी रहेको पनि नेताहरुले बताएका छन् । ‘यसमा हामी एक्लैले सक्दैनौ । कम्तिमा दुईवटा शक्ति चाहिन्छ । काँग्रेस, जसपा र माओवादी एक ठाउँमा ल्याएर संयुक्त सरकार निर्माणको पहल भइरहेको छ’ प्रवक्ता श्रेष्ठले आफ्नो धारणा सुनाएका थिए ।

त्यसक्रममा पहिला नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाउ भन्दा काँग्रेसले नमाने पनि अहिले काँग्रेस सकारात्मक भएको भन्दै सहकार्यका लागि जसपासँग पनि विभिन्न ढंगले कुराकानी र छलफल सकारात्मक ढंगले अघि बढिरहेको नेताहरुले बताएका छन् ।

त्यस्तै पार्टी निर्माणको हकमा ५ हजारको केन्द्रीय समिति बनाउनु नहुने भन्दै नेताहरुले विधि, पद्दति पालना गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए । ‘नेताले भन्दैमा एसएस र नो नो भनेर पार्टी बन्दैन । तत्काल विधानको अवस्था प्रस्ट पार्दै संगठनात्मक अवस्था क्लियर गर्दै र व्यक्तिवाद र गुटवादलाई अन्त्य गर्न जरुरी छ’ नेता श्रेष्ठले आफ्नो धारणा सुनाएका थिए ।

त्यस्तै एमालेसँगको पार्टी एकता सो पार्टीका नेताहरुको भूमिकामा भर पर्ने तर क्रान्तिकारी पार्टी बनाउने सर्तमा सबैसँग सम्वाद अघि बढाउने माओवादी केन्द्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्