माधव नेपाललाई कारबाही गर्ने ओलीको तयारी, नेम्बाङ र पौडेल रिसाए


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् ।

नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ । ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए ।

तर, नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए । सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए ।

यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए । ओलीको यो कदमपछि आक्रोशित बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

एमालेको किचलोले नेपाली राजनीति अस्थीर बनेको छ । सत्ता लालचा र व्यक्तिगत इगोका कारण दिनप्रतिदिन एमाले नेताहरुबीचको ग्राफ बढ्दै जान थालेको छ । दुवै पक्षले आआफ्नो अडान लिँदै मनगढन्ते रुपमा कमिटी बिस्तार गरिरहेका छन् ।

एकले अर्कोलाई निषेध गर्ने राजनीति अंगिकार गरेकोले दोस्रो पुस्ताका नेताहरु चिन्तित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्