लकडाउनको सारथी सूचना प्रविधि


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वकै मानव जाति आक्रान्त छ । संक्रमितको संख्या हरेक दिन हजारौंको दरले बढ्दैछ ।

विश्वका २ सय भन्दा धेरै देशमा फैलिएको कोभिड–१९ को खोप भने हालसम्म विकास भइसकेको छैन । यसबाट बच्ने तत्कालको उपाय भने ‘लकडाउन’ वा एकान्तबासमा बस्नु नै भएको वैज्ञानिकहरुले सुझाएका छन् ।

कसैको सम्पर्कमा नजाँदा यस भाइरसबाट सुरक्षित रहन सकिने भन्दै नेपाल सरकारले पनि लकडाउनको नीति अवलम्बन गरेको छ । सरकारको निर्णय पालना गर्दै सम्पूर्ण नेपाली डेढ महिनादेखि लकडाउनमा बसिरहेका छन् ।

यस्तो अवस्थामा कोभिड–१९ को रोकथामदेखि मानिसहरुका दिनचर्यालाई सहज र सरलीकरण गर्न सूचना प्रविधिले उल्लेखनीय भूमिका खेलिरहेको छ । एकान्तबासमा बसेर हरेक किसिमका काम गर्न सूचना प्रविधिले सहयोग गरिरहेको छ ।

सूचना प्रविधिको उचित प्रयोग नै लकडाउनको समयका लागि प्रमुख विकल्प हो । सूचना प्रविधिको प्रयोगले कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले लकडाउन सँगै भाइरसबाट बच्न के गर्नु पर्दछ, लक्षणहरु कस्ता देखिन्छन् भन्ने जस्ता सम्पूर्ण जानकारी आम नागरिकलाई दिन सहज बन्दैआएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सम्पूर्ण जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । जुन एपबाट संक्रिमत व्यक्तिको पहिचान गर्न मिल्ने र संक्रमित व्यक्तिको लागि नजिकै रहेको अस्पताल खोज्न मिल्ने समेत बनाइएको छ । उक्त एपमा व्यक्तिमा कोरोना भए नभएको सर्वेक्षण गर्न फर्म निमाण गरिएको छ । जुन फर्म व्यक्तिले भरेपछि कोरोनासँग मिल्दो लक्षण भेटिएमा उक्त व्यक्तिलाई सम्पर्कमा ल्याइ परीक्षण गर्ने समेत गरिएको छ ।

आफ्नो प्रदेशभित्रका लागि ५ न. प्रदेशले पनि एप निर्माण गरेको छ । जसले गर्दा कोरोनासम्बन्धी सूचना संम्प्रेषण गर्न, संक्रमित व्यक्तिको पहिचान गर्न र उपचारको निम्ति सहज भएको छ । नेपाल प्रहरीले कोभिड–१९ को रोकथामका निम्ति सहज बनाउन ‘नेपाल पुलिस’ नामक एपलाई अपडेट गराएर सञ्चालनमा ल्याएको छ ।

लकडाउन उलंघन भएमा, लकडाउनको समयमा कालोबजारी भएमा, आफू वा छरछिमेकमा कसैलाई कोभिड–१९ को लक्षण देखिएमा अथवा सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी गराउनु परेमा र कुनै ठाउँमा समस्यामा परेमा समेत रिपोर्ट गर्न मिल्ने गरी उक्त एप सञ्चालनमा रहेको छ ।

यसले गर्दा लकडाउनको पूर्ण कार्यान्वयन गराउन, कालोबजारी नियन्त्रण गर्न र कोभिड–१९ बाट संक्रमितको पहिचान र उपचार गराउन सहज भएको छ ।

लकडाउनको समयमा अत्यावश्यक सेवाको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न अनलाइनबाटै गुनासो तथा उजुरी लिएर त्यस्तो गर्ने व्यक्तिलाई कारबाही अगाडि बढाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सीआरएसआईएस) सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै विभिन्न आइटी कम्पनीहरुले कोभिड–१९ रोकथामका सहज हुने विभिन्न एप तथा सफ्टवेयर निर्माण गरेका छन् ।

कोभिड–१९ को रोकथाम, नियन्त्रणको लागि आवश्यक रणनीति बनाउन, बनेका रणनीतिहरुको कार्यान्वयनको अवस्थाको जानकारी लिन प्रधानमन्त्रीले समय समयमा प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दैआएका छन् ।

यस्तै सबै तहमा अनलाइन मार्फत बैठकहरु गर्न सहज बनाउन सबै स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर नेपाल सरकारले उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र एनसेलले रिङ्ग टोनमा कोभिड–१९ का लक्षण, बच्ने उपायहरुको जानकारी प्रदान गरी सूचित गरिरहेका छन् । साथै फोनबाटै व्यक्ति आफूले लक्षण भए नभएको जाँच्न मिल्ने सिस्टम समेत सुरु गराएका छन् ।

कोभिड–१९ को विरुद्ध मानिस घरमै एकान्तबासमा बसेर सूचना प्रविधिको प्रयोग गरी आफ्ना गतिविधि सञ्चालन गर्दै लडिरहेका छन् ।

यसवाहेक विभिन्न स्कुल र विश्वविद्यालयहरुले शिक्षण गतिविधि अनलाइनबाटै सुरु गरेका छन् । शिक्षा मन्त्रालय, उपकुलपति, डीनको निर्देशन तथा विभागीय छलफलबाट अनलाइन कक्षा चलाउने निर्णय समेत भएको छ ।

ई–पुस्तकालय, खान एकेडेमी, क्लास सेन्टल, फेट, सीके टेल्भ, ब्रिटिस काउन्सिल, डियरवाक लर्निंङ सेन्टर, ईडीएक्स, कुलल्याब्स, मिदास ई–क्लास जस्ता अनलाइन लर्निङका प्लेटफर्मका साथै युट्युब र केही भिडियो स्ट्रिमिङ प्लेटफर्महरुले विभिन्न अनलाइन कोर्ष उपलब्ध गराएका छन् ।

घरमा दिन बिताउन गाह्रो मानिरहेका तर पढ्न चाहने विद्यार्थीका लागि डिजिटल शिक्षा समय सदुपयोग र ज्ञान निमार्णको लागि राम्रो अवसर हो ।

अनलाइनमा सबै किसिमका पुस्तक उपलब्ध छन् । यसले गर्दा पढ्न खोजिरहेका तर पुस्तक किन्न नपाएर बसिरहेका व्यक्तिको लागि अनलाइन मात्र एक विकल्प बनेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै सबै मानिस लकडाउनमा बसिरहेका छन् । अत्यावश्यक बाहेक कोही पनि मानिस बाहिर निस्केका छैनन् । मानिस बिरामी पर्दा समेत सरकारी अस्पतालहरुले बाहेक अन्य निजी अस्पतालहरुले उपचार समेत गरेका छैनन् ।

रुघाखोकी र ज्वरोका बिरामी त निजी अस्पतालहरुले हेरेकै छनन् भन्दा पनि फरक पर्दैन ।

यस्तो परिस्थितिमा सूचना प्रविधिले यी समस्याहरुको समाधान दिएको छ । हाम्रो डक्टर, डक्टर अन कल लगायत विभिन्न वेबसाइटहरु, एपहरु छन् ।

जसले बिरामीलाई उनीहरुले सोधेको, बताएको आधारमा, परामर्श प्रदान गर्ने, रोगको लक्षणको आधारमा औषधि सिफारिस गर्ने गर्दछन् ।

यी एप/वेबसाइटहरुमध्ये केहीले भिडियोकल मार्फत पनि बिरामीहरुको उपचार गरिरहेका छन् । यस्तै अनलाइन मार्फत बिरामीले मागेका औषधि घरमै पुर्याउने, अनलाइनकै माध्यमबाट घरमै गएर ल्याब टेस्टको लागि रगत खकार संकलन गरेर अनलाइन मार्फत रिपोर्ट पठाउने मेडिकलसँग सम्बन्धित अनलाइन पोर्टलहरु रहेका छन् ।

यसरी लकडाउनको समयमा सूचना प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवा पुर्याउन सम्भव भएको छ । एकान्तबासको साथी सूचना प्रविधि कोभिड–१९ बाट बाच्ने एक मात्र विधि लकडाउनको पूर्ण कार्यान्वयन रहेको वतर्मान समयमा मानिसहरुले हरेक काम एकान्तबासबाटै गरिरहेका छन् ।

मानिस जस्तो सामाजिक प्राणीलाई एकान्तबासमा बस्ने कुरा सबैभन्दा अप्ठ्यारो काम हो । तर, सूचना प्रविधिको प्रयोगले मानिस भौतिक रुपमा एकान्तबासमा भए पनि सामाजिक दूरी भने नजिक बनाएको छ ।

विभिन्न सामाजिक सञ्जालमा समय बिताउने सँगै विभिन्न कम्पनी, वेबसाइटहरुले निःशुल्क सुविधा दिएका अनलाइन तालिम, कक्षाबाट रुचीअनुसार युवाहरुले ज्ञान र सीप हासिल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्