प्रधानमन्त्री बन्न पाउने भएपछि देउवा उत्साहित


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । सरकारमा रहेको एमाले अल्पमतमा पर्ने भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार निर्माणका लागि सक्रिय भएको छ । कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । कांग्रेसका दुई गुटबीच प्रधानमन्त्री देउवालाई मान्ने सहमति भइसकेको छ ।

देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहे पनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् । पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक उत्साही भएका हुन् ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारो परेको थियो । उनले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको प्रस्टीकरण दिएका थिए । सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो ।

त्यसअघि कांग्रेसभित्रै आन्तरिक समझदारी जुटाउन पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले देउवालाई प्रधानमन्त्रीका रूपमा सर्वसम्मत स्विकारेपछि देउवाले वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिने बताएका थिए ।

देउवाका लागि शुक्रबार बिहानको पौडेल पक्षीय बैठक नै विशेष बनेको थियो । महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले देउवालाई प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाटै सहजीकरण गरिदिएको हो । सत्ता समीकरणमा जटिलता बढ्दै गएको जनाउँदै देउवालाई सरकार निर्माणको पहल थाल्न आग्रह गर्ने धारणा पौडेल पक्षले बनाएको थियो ।

कांग्रेस नेतृत्वले वैकल्पिक सरकारको पहल अघि नबढाउँदा त्यसको लाभ ओलीले उठाउने आशंका बढेपछि देउवालाई नेतृत्वका लागि अग्रसर हुन आग्रह गर्ने समझदारी पौडेल पक्षले बनाएको हो । अप्ठ्यारो परिस्थितिमा दलहरूसँग संयोजन गर्दै आवश्यक पर्दा सरकारको नेतृत्वसमेत लिने गरी तीन दलको गठबन्धन बनाउन पहल थाल्नुपर्ने धारणा आफूहरूले बनाएको नेता अर्जुननरसिंह केसीले बताए ।

कांग्रेसले पहलकदमी नलिँदा जसपा अध्यक्ष महन्थ ठाकुर समूहका नेताहरूले ओलीसँग झुकाव बढाएको निष्कर्ष पौडेल पक्षले निकालेको थियो । त्यसपछि बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीलाई निरन्तरता दिनुभन्दा आफैंले नेतृत्व लिने गरी सरकार निर्माणको पहलकदमी अघि बढाउनुपर्ने निचोडमा पौडेल पक्ष आइपुगेको हो ।

जसपा एक भएर उभिएको खण्डमा देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण हुने सम्भावना बढेको छ । ओली नेतृत्वको सरकारलाई टिकाउने कि वैकल्पिक गठबन्धन बनाउने भन्नेमा निर्णायक शक्ति जसपा नै अहिलेसम्म अनिर्णीत छ । जसपाका दुई अध्यक्षमध्ये ठाकुर र उनीपक्षीय नेताहरूले प्रधानमन्त्री केपी ओलीप्रति झुकाव बढाएका छन् । अर्को धारको नेतृत्वमा रहेका उपेन्द्र यादवले ओलीलाई जसरी पनि सत्ताच्युत गर्नुपर्ने बताएका छन् ।

जसपाभित्रको दुई धारको प्रभाव कांग्रेससँगको छलफलमा समेत देखिएको थियो । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले एमाले र कांग्रेस आफूहरूका लागि समान भएको धारणा राखेका थिए । उनीहरूले निलम्बित सांसद रेशम चौधरीलगयात नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनको मुद्दा सम्बोधन हुनुपर्नेलगायत विषय नै दोहो¥याएका थिए ।

अर्का अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले भने ओलीलाई सत्ताच्युत गर्ने मुद्दालाई नै प्राथमिकतामा राखेका थिए । कांग्रेस नेतृत्वमै वैकल्पिक सरकार बनाउन आफूहरू तयार भएको र त्यसका लागि पहल गर्न देउवालाई यादव र भट्टराईले आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका लागि सभापति देउवा पहिलेदेखि नै आकांक्षी रहेका थिए । अहिले एमालेभित्रको मतभेदपछि प्रधानमन्त्री बन्न उनलाई सहज वातावरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्