काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिबेला सरकारमा जाने गृहकार्य गरिरहेको छ । जसपामा सरकारमा जाने/नजानेबारे दुईथरी मत देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकूरलाई प्रधानमन्त्री बन्ने आश्वासन बाँडेपछि पार्टीका मतभेद शुरु भएको छ ।
जसपा संसदीय दलको नेताका लागि अध्यक्ष ठाकूर, अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो आकांक्षी छन् । शुक्रबार बसेको जसपा संसदीय दलको बैठकमा सहमति नजुटेपछि आज पनि छलफल हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका शीर्ष सबै नेतालाई प्रधानमन्त्री बन्ने आफर देखाएपछि पार्टीमा मतभेद शुरु भएको स्रोत बताउँछ । आफूलाई १७ जना सांसदको आवश्यकता पर्ने भएकोले जसपा फुटेर राजपा मात्रै भएपनि पुग्ने प्रधानमन्त्री ओलीको आंकलन छ ।
राजपा मात्रै हुँदा मन्त्रिपरिषद् गठनमा समेत सहज हुनेछ । यता, जसपाका अध्यक्ष महन्त ठाकूर आफू जसरी पनि संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । पार्टी अध्यक्ष संसदीय दलको नेता नबन्ने स्थिति आएमा पुनः राजपानै बन्ने एक नेताको भनाइ छ । महन्थलाई उपप्रधानमन्त्री दिएमा खुसी हुने प्रधानमन्त्री ओलीको आंकलन छ ।
डा. भट्टराई संसदीय दलको नेता बनेमा जसपालाई प्रधानमन्त्री नै दिनुपर्ने चुनौति छ । यता, एमाले भित्रको मतभेद पनि कायमै रहेको छ । शुक्रबार ओली पक्षले एकलौटी ढंगले प्रदेश ईञ्चार्ज र केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ । पार्टीलाई मिलाएर अगाडि बढ्न नसके ओली आफैलाई चुनौति थपिँदै जानेछ ।