माधव–झलनाथको केन्द्रीय कमिटी बस्दै, ओलीविरुद्ध बन्यो यस्तो रणनीति


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एकलौटी ढंगले प्रदेश ईञ्चार्ज र केन्द्रीय सदस्य तोकेपछि माधवकुमार नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

त्यसै विषयमा छलफल गर्न नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बस्ने बैठकमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कमिटी पुनर्गठन तथा विस्तार र महाधिवेशनको मिति तोकिएको बारे छलफल हुने बताइएको छ ।

शुक्रबार साँझ बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक तय गरेको हो । माधव नेपाल पक्षले शुक्रबारै अध्यक्ष ओलीलाई टक्कर दिन पार्टीको समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद बढेको छ । नेपाल पक्षले अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएको छ ।

ओली नसच्चिए माधव–झलनाथ पक्षले कडा प्रतिवाद गर्ने र समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्