काठमाडौं । कोरोना भाइरस (कोभिड १९)का कारण ठप्प बनेको विश्व बजार अझै चलायमान हुन सकेको छैन ।
जसमा नेपालजस्तै बिप्रेषणले अर्थतन्त्रको केही हिस्सा धानेका मुलुक झनै समस्यामा परेका छन् ।
सामान्य आवश्यकता पूर्तिका लागि परनिर्भर बन्नुपर्ने नेपालको बाध्यता कोभिडले झनै संकटमा पारेको छ ।
अहिले दशैँ तिहारका लागि मुलुकमा आयात हुने धेरै सामाग्री चीनको भूमिमा अलपत्र छन् ।
कोरोनाको जोखिम देखाउँदै करिब ९ महिनादेखि नेपाल–चीन नाका सहज ढंगले सञ्चालन हुन सकेको छैन । व्यापारीले अर्डर गरेका सामाग्री सीमामा थन्किएका छन् ।
चीनले अझै सीमा नियमित रुपमा सञ्चालन गर्नका निम्ति कुनै जानकारी दिएको छैन । चीनबाट यसअघि मगाएका धेरै व्यापारीका स्याउ बाटोमै कुहिएका छन् ।
स्याउसँगै चीनबाट ल्याइएको लसुन र प्याज पनि कुहिएर मिल्काउनुपर्दा एकैपटक धेरै व्यवसायीहरु थला परेको हिमालय सीमापार ब्यापार संघले जनाएको छ ।
यता भारतीय प्याजको अभाव भएको भन्दै प्याजको मूल्य आकाशिएको छ, उता चिनियाँ नाकामा प्याज कुहिएको अवस्था छ ।
समस्या स्याउ र प्याज ल्याउनेको मात्रै छैन, चैत–वैशाखको गर्मीका लागि भनेर व्यवसायीले ल्याएको एक अर्ब हाराहारीको लत्ताकपडा पनि बाटोमै छ ।
लामो समय बाटोमै अलपत्र कपडा पनि बिग्रिएर र फेसन–आउट भएर मिल्काउनुपर्ने अवस्थामा आउन लागेको हिमालय सीमापार वाणिज्य संघको भनाइ छ ।
पछिल्लो ९ महिनामा नेपाल–चीन ब्यापारिक नाकामा लगातार अवरोध छ । कहिले चीनका कारण त कहिले नेपालका कारण नाका सहज भएको छैन ।
प्राकृतिक विपदले पनि चीनतर्फका नाकामा धेरै असर गरिरहेको छ । चीनतर्फका मुख्य रसवागढी र तातोपानी नाका पटक–पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार कोरोना देखिएका नेपाली श्रमिक संक्रमणमुक्त भइसकेका छन् ।
तैपनि ल्हासा प्रशासनको अनुमति नआएको भन्दै नाका खोल्न नसकिने जानकारी चिनियाँ पक्षले गराएको छ ।