काठमाडौं । भारतले कश्मीरमा पाकिस्तानमाथि गरिरहेको अन्यायबारे टर्कीले संयुक्त राष्ट्रसंघमा उठाएको छ ।
भारतले लामो समयदेखि पाकिस्तानमाथि दबाब दिएको टर्कीको भनाइ छ । यसमा भारतले भने टर्कीको कदमलाई आलोचना गरेको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए ।
भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताए ।
अर्दोआनको यो टिप्पणीप्रति भारतले आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं ।
यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो । भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ । टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मान गर्न सिक्नुपर्छ ।’
एक दिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएका थिए ।
भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो र पूरै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा बिभाजन गरेको थियो ।