एमाले उपाध्यक्षमा बादल र सुदूरपश्चिम ईञ्चार्जमा भट्ट


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ ।

यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् ।

उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो । यता, नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले पुनःस्थापित संसदबाट नयाँ खेलको शुरुवात हुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरूको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसद बाट नयाँ खेलको सुरुवात हुने बताएका हुन् ।

कुन र कस्तो खेल भन्ने स्पष्ट नपारे पनि उनले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिँदै जाने टिप्पणी गरे । संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लानुपर्ने उनको भनाई छ । नेकपा(एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए । उनले भने– ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरु पार्टी सँगको सहकार्य गर्ने कसरी, जनताको बिश्वास जित्ने कसरी, जनताका गुनासोहरू सम्बोधन गर्ने कसरी, पार्टी भित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा विस्तृत छलफल गर्छौ ।

हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यै पनि डराउँदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्