बादललाई प्रधानमन्त्री ओलीको ‘सप्रराइज’, खुसी बादल


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने तयारी थालेका छन् । सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ’बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए । एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति छन् । नेकपा (एमाले)का उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए ।

’उहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिनुभयो । सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौं,’ पौडेलले भने ।

उनले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उनीहरूका लागि ’सरप्राइज’ हुने बताए । पूर्वमाओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनको पक्षमा उभिएका थिए । उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन् । अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छ ।

आफ्नो पक्षमा लागेकालाई एमालेमा स्थान दिनेबारे ओलीले नेता माधवकुमार नेपाल समूहसँग भने छलफल गरेका छैनन् । बुधबारको संसद बैठकपछि नयाँ बानेश्वरमा संवाददाताहरूसँग कुरा गर्दै नेता नेपालले सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्वएमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्री ओलीले आफूहरूसँग अब के गर्ने भन्नेबारे कुराकानी नगरेको बताए ।

यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीतिर लागेकाहरूलाई अब के गर्ने भन्ने उनीहरूलाई छान्न दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्