देउवाको अपफरमा प्रचण्ड सकारात्मक, जसपाको शर्त


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् ।

उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् ।

तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।

ओलीले महन्थ ठाकुरसँग गरेको भेट, ठाकुरले सत्ता साझेदारीका विषयमा छलफल गर्न लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दिएको जिम्मेवारी लगायतले जसपाभित्र हलचल ल्याएको छ ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ठाकुर र राजेन्द्र महतोको भूमिकाबाट सशंकित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यता, सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् ।

कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको पहिलो बैठक सोमबार नै भएको शुक्लाले बताए । सत्ता सहकार्यका लागि नभइ आफूहरुले उठाउँदै आएको मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यदल गठन भएको उनको बताए ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा सत्ता सहकार्यबारे छलफलसमेत गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न तयार रहेका छन् ।

जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायत उठाउँदै आएको छ । यस्तो लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत जसपाले गर्दै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्