प्रधानमन्त्री बन्ने तयारीमा देउवा, एमाले छोडेर १४१ सांसद जम्मा


ओकेजनता डेस्क
२५ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको छ । सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपर्युक्त समय बल्ल आएको बताउन थालेका छन् ।

यसअघि प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि यो मौका छोप्ने दाउमा देउवा छन् ।

देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् । ‘दुई तिहाइ नजिकको सरकार चलाउन पाए पनि ओलीले राम्रा काम गरेनन्। जनमतको कदर गर्न सकेनन् । असंवैधानिक काम गर्दै गए । संविधान कुल्चिए, असंवैधानिक तरिकाले अध्यादेशहरू ल्याए । अब कांग्रेस संसदमा रहेका दलसँग परामर्श गरेर प्रधानमन्त्रीबाट ओलीलाई बिदाइ गर्ने बाटोमा जान्छ,’ सभापति देउवानिकट एक शीर्ष नेताले भने।

संसदमा कांग्रेसका ६३ सांसद छन् । तर उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार र सांसद मोहम्मद अफताब आलम निलम्बनमा छन् । यो अवस्थामा कांग्रेससँग अब ६१ सांसद छन् ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन्। यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन् । ५२ सांसदमध्ये चार जना प्रधानमन्त्री ओलीतिर छन् । अहिले मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी फर्केनन् भने माओवादी केन्द्रसँग ४८ जना सांसद हुनेछन् ।

यस्तै समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन् । यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा छन्। अब जसपासँग ३२ सांसद छन् । कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ । यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ । बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ ।

देउवा लागि आफू प्रधानमन्त्री हुने यो उपर्युक्त समय हो । भदौमा कांग्रेसको १४ औं महाधिवेशन छ । महाधिवेशनअगाडि नै प्रधानमन्त्री हुन सके उनले आफ्नो प्रभाव महाधिवेशनसम्म कायम राख्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्