प्रचण्डसँग छुट्टिदै गर्दा माधव नेपालले यस्तो भने


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् ।

बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’ उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

यता, आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियो । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि सोही नाममा निर्वाचन आयोगले दल दर्ता गरिदिएको थियो ।

तर, त्यो भन्दा पहिले आफ्नो नेतृत्वमा नेकपा पार्टी दर्ता रहेको भनी ऋषि कट्टेलले सर्वोच्चमा रिट दिए । उक्त रिटमा सर्वोच्चले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला ग¥यो ।

सर्वोच्चले कट्टेल नेतृत्वको पार्टीले नेकपा पाउने मात्रै भनेन, एकीकरण हुनुअघि साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा कायम रहने फैसला सुनायो ।

एमाले र माओवादी केन्द्रले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम अनुसार अविलम्ब उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम निर्णय गर्नू भनी निर्वाचन आयोगका नाममा परामादेश पनि जारी गरेको छ ।

सर्वोच्चको यस्तो फैसलापछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् । तर उनीहरु पूर्ण रुपमा सक्रिय हुन के के गर्नुपर्छ ? अदालतको निर्णय कार्यान्वयनमा जान केही समय लाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

सर्वोच्चको आदेश निर्वाचन आयोगमा आइतबार नै पुगिसकेको छ । आयोगले आन्तरिक तयारीपछि अगाडि बढ्ने बाटो तय गर्छ । सोमबार सार्वजनिक विदा परेकाले आयोगले कुनै काम अगाडि बढाएको छैन ।

आयोग स्रोतका अनुसार मंगलबार आयोगमा सर्वोच्चको फैसला कार्यान्वयनबारे छलफल हुनेछ । र राजनीतिक दलहरुलाई सर्वोच्चको फैसला अनुसार आयोगले पत्र पठाउनेछ ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र एकीकरण भएपछि निर्वाचन आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नाममा दल दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्