ठेकेदारको दादागिरीले ग्रस्त नागरिक उड्डयनका श्रमिक


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणमा ठेकेदार मार्फत् काम गर्ने श्रमिक पीडामा परेका छन् ।

२०७४ सालबाट लागू गरिएको सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरुको बिचल्ली भएको छ । कोरानाको त्राहीमाम खेपेर काम गरिरहेका श्रमिकको भविष्य नै अन्योल बनेपछि उनीहरु आक्रोशित बनेका छन् ।

ठेकेदारले कन्ट्रयाक्टमा काममा ल्याउने र उनीहरुका सामान्य आवश्यकता समेत पुरा नगरिदिँदा उनीहरु मर्कामा परेका हुन् । ठेकेदारको दादागिरीबाट मन्त्री र प्राधिकरणका डिजी समेत आजित हुने गरेको एक श्रमिकले सुनाए ।

नाम नभन्ने शर्तमा उनले भने ‘हामीलाई कोरोनाको कहरका बीचमा सामान्य स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, पञ्जा, पीपीईको अभाव छ ।’ कति पटक माग्ने ?

ठेकेदारहरु आफूखुसी कामदार राख्ने र कसैले आफ्नो बारेमा नकारात्मक टिप्पणी गरे हटाउने सम्म गर्छन । त्यसैले पनि श्रमिक खुलेर बोल्न सकेका छैनन् । कोरोनाका कारण निजी क्षेत्र र कन्ट्रयाक्टमा काम गर्ने श्रमिकले समस्या झेल्नु परिरहेको छ ।

यसबारेमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एवम् उपमहानिर्देशक राजकुमार क्षेत्रीसँग बुझ्दा श्रमिकमाथि असमान व्यवहार गर्नेलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
क्षेत्रीका अनुसार श्रमिकमाथि यस्ता व्यवहार गरेको पाइएमा ठेकेदार कानुनी दायरामा आउनुपर्छ ।

हरेक समयमा श्रमिकका हकहितका विषयमा कुरा उठेपनि उनीहरुका समस्या जस्ताका तस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्