पेरिसडाँडाँबाट बाहिरियो आन्तरिक विषय


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपा प्रचण्ड–नेपाल पक्ष वार्ता र छलफलमा सक्रिय बनेको छ । फैसलाको सम्मान गर्ने जनाएको प्रचण्ड–नेपाल पक्षले सही समयमा फैसला नआएको ठहर गरेको छ ।

पेरिसडाँडाँमा जारी प्रचण्ड–नेपाल पक्षको बैठकमा आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमालेमै गएर संघर्ष गर्ने रणनीतिमा छ ।

खासगरी लामो समय एमालेमा बिताएका माधव नेपाल, झलनाथ खनालका लागि अहिलेको परिस्थिति जटिल बनेको छ । यता, प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फेर्नेबारे सहमति जनाएका छैनन् ।

आज परेको १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिने क्रममा लेखिएको विज्ञप्तिमा समेत प्रचण्ड एक्लैको हस्ताक्षर समेटिएको भन्दै पार्टीका नेताहरु कानेखुसी गरिरहेका छन् । दुवै जनाको हस्ताक्षर चल्ने भएपनि प्रचण्ड एक्लैको हस्ताक्षर किन भन्दै नेताहरुले आपसमा कुरा उठाएका छन् ।

नेपाल पक्षका नेताहरुको आज एक्लै बैठक बसेको थियो । बैठकमा नेताहरुले एमालेमै गएर संघर्ष गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल पनि सकेसम्म पार्टीलाई मिलाउने प्रयत्न गरिरहेका छन् तर, ओलीले अब मिल्न नसकिने बताइसकेका छन् ।

यता, केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड–माधव पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूहले आन्तरिक छलफल गरिरहेको हो । छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ । साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्