माधव नेपालको टोली एमालेमा फर्किँदै


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ ।

नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ’ओली प्रवृत्ति’ विरूद्ध लड्ने मनस्थितिमा रहेको बताए ।

‘अहिले पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक विदाइ बैठक पनि हुन सक्छ,’ पेरिसडाँडामै उपस्थित उनले भने ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए । ती केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ ।

‘नेताहरू सर्वोच्चको आदेशविरूद्ध पुनरावलोकनमा पनि जान सक्नुहुन्छ । तर त्यसको टुंगो कहिले लाग्छ भन्ने पनि एकिन भएन । अब कि त संसदीय मोर्चा केही होइन भनेर आन्दोलनमा जानु प¥यो,’ उनले भने,‘उता पनि हामी पार्टी एकताका पक्षमा लागिरहन्छौं । ओली प्रवृत्तिविरूद्ध लडिरहन्छौं ।’

माधव नेपाल पक्ष ओली समूहमा कहिले फर्किने भन्ने निश्चित भएको छैन ।

पेरिसडाँडामा अहिले प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। कार्यालयबाहिर उक्त समूहका केन्द्रीय सदस्य र सांसदहरूको बाक्लो उपस्थिति छ।

प्रतिक्रिया दिनुहोस्