प्रधानमन्त्री ओलीको सन्ध्या तिवारीलाई फोन, सन्ध्याको आयो शर्त


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीबीच फोन वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले अब एमालेलाई नै ब्युताउनुपर्ने भएकोले अधिवेशनको तयारीका लागि फोन सम्पर्क गरेको बुझिएको छ ।

विधिवत रुपमा पार्टीलाई अगाडि बढाउन तिवारीसँग सम्पर्क भएको स्रोतले जनाएको छ । त्यो बीचमा तिवारीले एमालेलाई बलियो दल बनाएर फ्रेस भिजन भएका युवाहरुलाई नेतृत्व दिनुपर्ने बताएकी थिइन् । अबको नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी पुरानालाई अभिभावकको रुपमा राख्नुपर्ने तिवारीको तर्क थियो ।

प्रधानमन्त्री ओलीले आफूले पनि नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्न चाहेको बताएका थिए । अझै केही पाउँछौ की भन्दै दाउ कुर्नेलाई साइड लगाएर नयाँ पुस्तालाई नेतृत्व दिन आफू तयार भएको प्रधानमन्त्री बताएको एक नेताले जानकारी दिएका छन् ।

नेकपामा पनि नयाँ पुस्तालाई नै नेतृत्व हस्तान्तरण गर्न खोजेकोले विवाद आएको ओलीको तर्क थियो । २००७ साल हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलाई ल्याइ पुर्याउने नेताहरुलाई सम्मान गर्दै नयाँ भिजनका साथ युवा पंक्ति राजनीतिमा आउनुपर्ने ओलीको तर्क छ ।

अबको राजनीतिमा पुरानोबाट पाठ सिक्दै अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गनुपर्ने आवाज चौतर्फी उठिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

कांग्रेसका शीर्षस्थ नेताहरु पनि नयाँ युवा पंक्तिलाई नेतृत्व दिन तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्