प्रचण्ड पुत्री गंगाको भा,वुक स्ट्याटस


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्चबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी छन् ।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् ।

यता, सर्वोच्चद्वारा पुनर्स्थापित नेकपा एमालेका ओलीनिकट पंक्तिमा यस्तै रोचक माहोल देखिएको छ । सर्वोच्च अदालतको फैसलाले प्राविधिकरुपमा केपी ओलीलाई हराएको हो । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताका लागि ओली र प्रचण्डबीच निर्वाचन आयोगमा लडाईं चलिरहेको थियो । तर, सर्वोच्चले तेस्रो व्यक्ति ऋषि कट्टेलको संगठनलाई वैधानिक नेकपा मान्यो ।

यसको अर्थ ओली र प्रचण्ड दुवैको हार भयो । ओली नेकपाका पहिलो अध्यक्ष थिए । तसर्थ, यो हारले सबैभन्दा ठूलो धक्का उनलाई लाग्नुपर्थ्यो । नेकपाको आधिकारिकता गुमाउँदा उनी स्तब्ध बन्नुपर्थ्यो । तर, प्राविधिकरुपमा हारे पनि फैसलाले उनलाई मानसिकरुपमा राहत दिएको छ । त्यसैले उनी ठीक खुशी मूडमा छन् । भलै उनले आफ्नो खुशी लुकाउने प्रयत्न गर्लान् ।

ओलीले खुशी नदेखाइहाले पनि उनी निकट नेता–कार्यकर्ताले चाहिं लुकाएका छैनन् । हिजो सर्वोच्चको फैसला आएपछि उनीहरु आपसमा बधाई र शुभकामना साटासाट गरिरहेका देखिन्थे । यति मात्रै होइन, विभिन्न ठाउँमा कार्यकर्ताले दिपावलीसमेत गरेका थिए ।

ओलीनिकट नेता विष्णु पौडेल आफू नेकपाको महासचिवबाट झरेर एमालेको उपमहासचिव बनेको भन्दै यसलाई खुशीसाथ स्वीकारेका छन् । महेश बस्नेतले गर्वसाथ आफूलाई नेकपा एमालेको सांसद भन्दै संसदभित्रको तस्वीर पोष्ट गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसला सेयर गर्दै लेखेका छन्– सबै खुशी देखिन्छन् त ।

फैसलापछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले हिजै संसदीय दलको बैठक बोलाए । हिजोको बैठकमा उनले विघटित नेकपाका सांसदहरुलाई पनि डाकेका थिए । तर, बैठकमा सम्बोधन गर्ने क्रममा उनले अब एमालेको बैठक बोलाउने र त्यसमा माओवादीबाट आउन चाहनेहरुलाई पनि समावेश गराउने बताएका छन् ।

आफूसँग रहेका केही पूर्वमाओवादी नेताहरुलाई समेट्न उनले यो रणनीति लिएका हुन् । ओली निकट पंक्ति फैसलाबाट खुशी हुनुका विभिन्न कारण छन् । मुख्य कारण त एमाले र माओवादी केन्द्रको एकता भावनात्मक हुनसकेको थिएन । पछिल्लो समयमा पार्टीभित्रको निरन्तर किचलोले बरु पूर्व एमाले ब्युँतिए हुन्थ्यो भन्ने चाहना ओलीनिकट नेता–कार्यकर्ताको थियो ।

प्रतिक्रिया दिनुहोस्