ऋषि कट्टेलका पक्षमा सर्वोच्चको फैसला : नेकपा उनकै आधिकारिक


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आधिकारिकता विवादमा निर्वाचन आयोग लामो समयदेखि अनिर्णित छ ।

यता, आधिकारिकता दाबी गरेको एक महिना वितिसक्दा समेत राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका आफ्नै नजीरहरुलाई समेत बेवास्ता गर्दै आयोग पदाधिकारीहरू विवाद निरुपणको प्रक्रियामा प्रवेश गरेका छैनन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने प्रचण्ड–माधव पक्षबाट प्राप्त आधिकारिता दाबीका सम्बन्धमा अध्ययन भइरहेको बताउँछन् । उनी भन्छन्, ‘विवाद निरुपणको औपचारिक प्रक्रिया भने सुरू भएको छैन ।’

नेकपा प्रचण्ड–माधव समूहले माघ २० गते आयोगसमक्ष दफा ४४ अनुसार आधिकारिकताको दाबी पेश गरेको थियो । कानुनतः आधिकारिकता दाबी पेश भएलगत्तै अर्को पक्षलाई सूचना दिनुपर्ने हुन्छ । तर, प्रचण्ड–माधव समूहको आधिकारिकता दाबी पेश गरेको एक महिना वितिसक्दा समेत आयोगले अर्को पक्ष (ओली समूह) लाई कुनै सूचना दिएको छैन ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ (२) मा केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले दलको आधिकारिकता सम्बन्धी दाबी पेश गर्न सक्ने व्यवस्था छ । ऐनमा ‘‘ दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई पन्ध्र दिनको सूचना दिनु पर्ने’ उल्लेख छ ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल ऐनअनुसार आयोगले तत्काल दलको विवाद निरुपण गर्नु पर्नेमा त्यसो नगरेको बताउँछन् । ‘हामीले नेकपा विवाद निरुपणमा विलम्ब भयो भनेर वक्तव्य नै निकालेर निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छौं,’ पोखरेलले भने ।

फागुन १९ गते पोखरेलसहित पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य निकालेर नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्