संसदले भन्यो– दलको नेता ओली र प्रमुख सचेतक भट्टराई


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’

संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सचेतक विशाल भट्टराई नै रहने पाण्डेले बताए ।

यता, प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ ।

नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।

सभामुखको भूमिका सन्देहास्पद रहेको भन्दै केपी ओली पक्षले चेतावनी दिइरहेका बेला प्रचण्ड–माधवले सभामुखसँग परामर्श गरेका हुन् ।

सभामुखको सचिवालय स्रोतले भने विभिन्न दलका नेताहरुसँग परामर्श गर्ने क्रममा सभामुखले प्रचण्ड र माधव नेपालसँग भेट गरेको बताएको छ ।

नेकपाको आधिकारिकता विवाद चलिरहेको र प्रचण्डले दलको नेता दाबी गरेको बेला सभामुख सकसमा छन् । विवादकै कारण आज कार्यव्यवस्था परामर्श समिति बैठक समेत बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्