प्रचण्ड–नेपालले सभामुख सापकोटालाई भेटे


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् ।

भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन । यद्यपि पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

अपराह्न चार बजे संसद बैठक बस्दै छ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव नेपाल पक्ष त्यसबारे अझै अनिर्णित बनेको छ ।

शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।

प्रतिनिधि सभा बैठक अपरान्ह चार बजे बस्दैछ । बैठक सुरु हुन केही घण्टामात्रै बाँकी रहेपनि प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्न सकेको छैन ।

सो पक्षले नेपाली काँग्रेस र जनता समाजवादीमध्ये एक दलसँग मिलेर मात्रै अविश्वास प्रस्ताव अघि बढाउने यसअघि तयारी गरेको थियो । तर, ती दलले नेकपा विवाद छिनोफानो नहुँदासम्म अविश्वास प्रस्तावमा सहभागी नहुने संकेत गरेपछि प्रचण्ड–माधव पक्षले पनि निर्णय गर्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्