आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड एकहप्ताका लागि बन्द


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

फाइल तस्बिर

काठमाडौं । मर्मत कार्य गर्नका लागि आजबाट एक हप्तासम्म नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरिने भएको छ ।

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको हो । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनियर सविना रानाभाट जानकारी दिइन् । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताइन् ।

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिइन् । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।

उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।

मर्मतका लागि बन्द गरिएकोले यसबाट यात्रुलाई पर्न जाने असरमा निर्माण कम्पनीले क्षमा मागेको छ । वर्षेनी आउने पहिरोलाई यसपाली भने पूरै बन्द गर्नेगरी काम भइरहेको निर्माण कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्