निर्वाचन आयोगले आजै नेकपा यो पक्षलाई आधिकारिकता दिँदै


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो ।

‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पषले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाइ सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् ।

पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अन्नपूर्ण पोस्ट लेख्छ, नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधिसभाको सातौँ बैठक बस्ने तय भएको छ ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।

नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।

तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्