प्रचण्डलाई संसदीय दलको नेता सम्बोधन भए संसदमा यस्तो हुनेछ


ओकेजनता डेस्क
२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ । सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ ।

‘आइतबारदेखि सदन चल्दैछ । नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिकार गरिनेछ,’ ओली समूहका एक सांसदले भने । उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिइ कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो ।

‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरुलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन ।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ । यो नागरिक दैनिकको खबर हो ।

कान्तिपुर लेख्छ, बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने ।

‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्ना हल जोगाए,’ शाहीले भने, ‘दोस्रोपटक प्रतिनिधिसभा जितेपछि झन् कम्पाउन्डै पो लगाएछन् ।’ बालाजु चोकबाट सय मिटर नुवाकोटतिर जाने सडकको दायाँ छेउमा छ मानन्धरको अष्टनारायण पिक्चर्स । सडक विस्तारका लागि यो हलमा पनि रातो रङले चिनो लगाइएको थियो तर सत्तामा रहेका मानन्धरको हल भत्किएन । आफ्नो सिनेमा हल जोगाएर सर्वसाधरणको चाहिँ उठीबास लगाइदिएको भन्दै पीडित आक्रोशित भए । शाहीले त मानन्धरको पार्टी नेकपा नै छाडिदिए । ‘म उहाँकै कार्यकर्ता थिएँ,’ उनले भने, ‘नेताको दोहोरो रुप देख्दा नरमाइलो लागेर पार्टी छाडिदिएँ ।’

प्रतिक्रिया दिनुहोस्