‘हेलो म प्रधानमन्त्री ओली आज ११५ सांसद, तपाईं भोलि आउनुस् है’


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे ।

उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ ।

प्रचण्ड नेपाल पक्षमा पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी १ सय १५ पु¥याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन । हामी बहुमतमा छौँ ।’

उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने र कसैले त्यस्तो हिम्मत गर्छ जस्तो आफूलाई नलागेको दावी गरे ।

बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । आइतबार संसद बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्