प्रधानमन्त्री ओली यसरी बिदा हुँदैछन् संसदबाट


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने अनौठो रणनीति अपनाएका छन् । विधि र पद्धती अनुसार नै संसदबाट बाहिरिएको जनतालाई बुझाउन र यसपछि सरकारमा गएकाको कटाक्ष गर्न ओलीको ठूलो रणनीति रहेको राजनीतिक विश्लेषकको भनाइ छ ।

राजनीतिमा कति पनि उतारचढावमा नजाने ओलीले अहिलेको खेल पनि सहज गरी जित्ने एक कानून व्यवसायीको भनाइ छ । आजै बसेको ओली पक्षको संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री ओली आफैंले संसदमा विश्वासको मत नमाग्ने विषयमा छलफल भएको छ ।

संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उनले बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ ।

 

द्याहाल–नेपाल पक्षले पनि संसदीय दलका बहुमत भएको दाबी गरेको छ भने बामदेव गौतमसहित केही सांसद दुवैतिर लागेका छैनन् । आफ्नो पक्षका सांसदहरुको बैठकमा दलका नेता ओलीले संसदमा अविवासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भनेका छन्, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’

राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आफैं संसदमा विश्वासको मत माग्ने कुनै सम्भावना छैन । ‘संसद विघटन गर्दा उहाँले जुन प्रश्न उठाउनु भएको थियो, त्यो ठीक थियो भन्ने पुष्टि भएको छ’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भन्ने प्रश्नै आउँदैन ।’

ओली निकटका नेताहरुले भने प्रधानमन्त्रीको निर्णय दुरदर्शी भएको बताएका छन् । अहिले नयाँ सरकार बन्दैमा कायापलट हुन्छ भन्ने छैन निर्वाचनका लागि मात्रै सरकार गठन हुन्छ, एक नेताले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीले जनतामा गएर आफ्नो पक्षमा मत माग्नेछन् । कांग्रेस मौन बसेको र नेकपाकै चारजना सांसद चुप बसेका बेला संसदीय दलमा दुवै पक्षको बहुमत छैन । ओलीले संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि सरकारबाट बिदा हुने अठोट गरेका छन् ।

नेकपा ओली पक्षका एक नेताका अनुसार ओलीले बाहिरबाट अब सरकारमा जानेको कामहरु नियाल्ने बताए । अहिलेको परिस्थितिमा दुई तिहाइलाई भत्काएर सरकारमा जान खोज्नु गलत मनसाय भएको एक नेताले बताए ।

यता, दाहाल–नेपाल पक्षले संविधानको रक्षार्थ अहिले सरकारमा जानुपरेका अथ्र्याएको छ ।

प्रतिक्रिया दिनुहोस्