काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते (भोलि) बस्ने संसदको बैठकमा अविश्वासको प्रस्ताव फेस गर्ने निर्णय गरेका छन् ।
अहिलेसम्म नेकपाका दुवै पक्षको संसदीय दलमा समेत बहुमत पुगेको छैन । संसदीय दलको बहुमतका लागि दुवै पक्षलाई चारजना निर्णायक हुनेछन् ।
नेकपाका उपाध्यक्ष बामदेव गौतम, उहाँकी धर्मपत्नी तुलसा थापा, लालबाबु पण्डितलगायतका नेताहरु अहिले तटस्थ अवस्थामा छन् । उनीहरु कुनै पनि पक्षमा खुलेका छैनन् ।
अहिले नेकपाका दुवै पक्ष सांसद तानातानको पक्षमा उभिएका छन् । नेपाली कांग्रेस यतिबेला संसदमा कसरी प्रस्तुत हुने भन्ने पक्षमा रणनीति बनाइराखेको देखिन्छ ।
नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीको भूमिकाप्रति रोष प्रकट गरिरहेको छ । प्रधानमन्त्री ओलीलाई संसदीय व्यवस्थामा साथ दिन नसक्ने कांग्रेसको ठहर छ । कांग्रेसले साथ नदिएमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामना गर्नुपर्नेछ ।
तर, प्रधानमन्त्री ओली भोलिको संसदमा कति पनि डगमगाएका छैनन् । प्रधानमन्त्री ओलीले नेकपाका एक सांसदको मृत्यु भएका कारण शोक प्रस्ताव पारित गर्ने तयारी गरेका स्रोत बताउँछ । ्
प्रधानमन्त्रीले आफ्नो पक्षमा माहोल नहुन्जेलसम्म संसदमा दबदबा कायम गरिराख्ने स्रोतको भनाइ छ । अहिलेको परिस्थितिमा नेकपा विभाजन भइसकेको छैन । नेकपामा एक जना मात्रै संसदीय दलको नेता हुने प्रावधान छ ।
प्रधानमन्त्री ओलीलृ आज मात्रै संसदीय दलको बैठक डाकेका छन् । उनले दाहाल–नेपाल पक्षलाई पनि बैठकमा उपस्थित हुन भनेका छन् । प्रक्रिया सबै पूरा गर्दै आएका प्रधानमन्त्री ओलीलाई सहजै हटाउन सक्ने आधार दाहाल–नेपाल पक्षलाई पनि छैन ।
प्रधानमन्त्रीविरुद्ध सहजै अविश्वासको प्रस्ताव पास गराउनका निम्ति कांग्रेसको सहयोग आवश्यक छ । नेकपा एकै रहेका बेला कांग्रेस पनि कुन पक्षसँग मिल्ने दोधारमा छ । अहिले कांग्रेसले कुनै एक पक्षलाई मात्रै साथ दिएमा र यदि नेकपा मिलेमा कांग्रेसको हालत चीनको कोमिङताङ वा राष्ट्रिय प्रजापरिषद् हुन बेर नलाग्ने एक विश्लेषकको भनाइ छ ।
त्यसैले पनि २३ गतेको संसद निकै गम्भीर चुनौतिपूर्ण छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री नबन्ने बताइसकेका छन् ।