देउवाको भनाइ बाहिरिएपछि नेकपा दुवै पक्ष समस्यामा


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, “म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’

काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् । यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए ।

उनले भने, ’संसदीय व्यवस्थापनमा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई यो गर त्यो भन्नुहुँदैन भनेको हुँ । यसमा म प्रतिबद्ध छु ।’ कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा भएको थियो ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।

आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ ।

नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ।’ उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्