विप्लवले यो भेषमा सेल्टर लिएका चार स्थान


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार नवलपरासीबाट झिसमिसेमै सार्वजनिक भए ।

नलवपरासीका सहिद परिवारलाई भेटेर सडक मार्ग हुँदैै काठमाडौं आएका उनी सामाखुसीको एउटा होटलमा पुगे । त्यहाँबाट बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान संवाद गरेर राष्ट्रियसभा गृह पुगेर खुला भए ।

दुई दिनअघिसम्म प्रहरीले पक्राउका लागि खोजिरहेका विप्लव अन्ततः प्रहरीकै स्कर्टिङमा राजधानी छिरे । उनी चितवन प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन् । त्योबाहेक विप्लवले आफ्नै सहयोगी पनि ल्याएका छन् । प्रहरीका अनुसार विप्लवका २२ जना दुईवटा गाडीमा उनीसँगै आएका छन् ।

यसअघि १० वर्षे सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीका नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए ।

तर, विप्लव भने हेलिकोप्टरको साटो गाडीमै बालुवाटर छिरे । उनलाई पनि सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरेको थियो । विप्लवले नै हेलिकोप्टरमा चढेर आउन इन्कार गरेपछि प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन् ।

सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीनबुँदे सहमति भएको थियो । उनको पार्टीका तर्फबाट खड्गबहादुर विश्वकर्मा र सैन्य विभागका प्रमुख उदय चलाउने ‘दीपक’ थिए । सरकारका तर्फबाट भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश विभाग सल्लाहकार राजन भट्टराई थिए ।

सरकारले विप्लव समूहलाई २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको हो । यसअघि उनी अर्ध–भूमिगत अवस्थामा थिए । ११ फागुनमा ललितपुरको एनसेल कार्यालयको गेटअघि गराइएको बम विस्फोटपछि सरकारले विप्लव समूहमाथि राजनीतिक प्रतिबन्ध लगायो ।

त्यसयता विप्लव समूहका २ हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परे । माथिल्लो तहका नेताहरू हेमन्त प्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ प्रहरीको नियन्त्रणमा परे । विप्लव भने देशका चारवटा सुरक्षा संगठनका आँखा छल्न सफल भए । विप्लव समूहका नेताहरूका अनुसार विप्लव प्रतिबन्धपछि अधिकांश समय कपिलवस्तु जिल्लाकै लुम्बिनी क्षेत्रलाई सेल्टर बनाएर बसेका थिए । त्योबाहेक दाङ र नवलपरासी जिल्लालाई विप्लवले सेल्टरको रूपमा प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्