यो दिनलाई सम्झिए सूर्य थापा, भने तिमी महान छौँ (तस्बिरसहित)


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको दोस्रोपटकको मृगौला प्रत्यारोपण गरेको एकवर्ष पूरा भएको अवसरमा शुभकामना दिएका छन् ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा मृगौलाको दोस्रोपटक सफल प्रत्यारोपण गराउनुभयो । उहाँको स्वास्थ्यमा तत्पश्चात् खासै समस्या छैन र सामान्य रहेको छ । दैनिक १८ घण्टा देश र जनताको निम्ति प्रधानमन्त्रीको हैसियतमा काममा सक्रिय हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘सामान्य जवान मान्छेभन्दा पनि बढी ६९÷७० बर्षको पाको उमेरमा उहाँ अहोरात्र काममा खटिनु लोभलाग्दो र विशेष सक्रियता नै हो । प्रत्यारोपणपछिका १० दिन उहाँ अस्पतालमा नै रहनुभयो र छिटो डिस्चार्ज भएर निवास फर्केकै दिन चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको प्रतिनिधिमण्डललाई भेट दिनुभयो ।’

उनले तेस्रो दिन चैत २ गते त उहाँ दक्षिण एसियाका नेताहरूसँगको भर्चुअल कन्फरेन्समा सहभागी हुन सिंहदरबारस्थित एक्सन रूममा पुग्नुभयो र करिब ३ घण्टा सहभागी हुनुभयो र सम्बोधनसमेत गर्नुभयो । त्यसयताको बर्षभरि उहाँ कोभिड–१९ को महामारी र पार्टीभित्रका पदलोलुप एवं अनुशासनहीन तत्वहरूको घेराबन्दीविरूद्द निरन्तर जुझ्न बाध्य रहनुभएको तथ्य सबैमा विदितै छ ।

उहाँको सफल मृगौला प्रत्यारोपण पार्टी भित्रका केही अमानवीय र महत्वाकांक्षी व्यक्तिहरूका लागि असैह्य र स्तब्ध पार्ने घटना बन्यो । तीमध्ये कसैकसैले त अस्पताल पुगेर स्वास्थ्यस्थिति बुझ्नसम्म जरूरी ठानेनन् । बरू त्यही समयमा अर्कै पार्टीका कार्यकर्ताको विवाहमा निम्तो मान्न लावालश्करसहित काठमाडौं बाहिरतक पुगे ! संक्रमणबाट बच्न चिकित्सकहरूले बसाइको दूरी कायम गरिदिएकोमा त्यसलाई पनि आफ्नो कुर्सी हटाएर बदनाम गरेको भनेर विद्रूप पारेर विषय बनाउने कोशिस गरे । तिनको आशय, मनशाय र रवैया स्पष्ट भइसकेको छ ।

नेपाली जनताको हित र मुलुकको स्वधीनताका लागि प्रधानमन्त्रीले विगत एक बर्षमा गर्नुभएका काम र आफ्नैहरूसँग गर्नुभएको कठोर सत्ता–संघर्ष विशेष रह्यो । सके विरामीको बहाना बनाएर भएपनि हटाउने, नभए जेसुकै गरेर अपदस्थ गरिछाड्ने कसम खाएका व्यक्तिहरूसँग उहाँले यस अवधिमा गर्नुपरेको संझौताहीन संघर्षले उहाँको उच्च मनोबल, दृढ नेतृत्व र “आइरन पर्सनालिटी“कै पुनःपुष्टि
गरेको छ ।
भारतद्वारा ५९ बर्षदेखि अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई यस अवधिमै नेपालको नक्सामा समावेश गरिएको र साहसका साथ प्रकाशित नक्सालाई निशान छापमा समेटेर संविधानको दोस्रो संशोधन शतप्रतिशत सहमतिमा गर्ने कार्यको उहाँले नै नेतृत्व गरेर यही अवधिमा निष्कर्षमा पु–याउनुभएको छ । यो सामान्य उपलब्धि किमार्थ होइन ।

हिजो फागुन २१ गते उहाँ र सशस्त्र विद्रोहमा रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले राष्ट्रिय सभागृहबाट नेपाली जनतालाई गर्नुभएका सम्बोधनले त शान्तिपूर्ण कार्यदिशाका आधारमा मुलुकलाई आत्मनिर्भर, स्वाधीन र समृद्ध बनाउने तथा नेपाली जनताको सुख र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्न थप आधार निर्माणको नयाँ सन्देश नै प्रवाह भएको छ । यो अर्काे युगान्तकारी सफलता र कीर्तिमान हो ।

प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपणकै कारण यस्ता यूगीन महत्वकन कार्यहरूको नेतृत्व गर्न र दुष्टहरूसँग लड्न उहाँलाई संभव भएको छ । यस सफलताको क्षणमा उहाँको सफल प्रत्यारोपण गर्ने नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरू, शिक्षण अस्पताल महाराजगन्ज परिवार, मृगौलादाता समीक्षा संग्रौला, देश विदेशमा रहनुभएका करोडौं शुभेच्छुक र समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्नैपर्छ ।

नेपाली जनताको आशिर्वादले यसरी पूर्ण स्वास्थ्यलाभ हासिल गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई बधाई तथा निरन्तर दृढ नेतृत्व तथा सफलताको लागि हार्दिक शुभकामना !
साथमा हेर्नुहोस –
बालुवाटारदेखि शिक्षण अस्पताल र पुनः बालुवाटारसम्म
१२ दिनका केही तस्बिर र झलकहरू –

प्रतिक्रिया दिनुहोस्