हवाई उडानसँगै धनगढीका व्यवसायी उत्साहित


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । आन्तरिक उडान सूचारु भएपछि धनगढीका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

होटल व्यवसाय पुरानै लयमा फर्कने व्यवसायीहरुको आशा छ । कोभिड १९ कारकाण धराशायी बनेको पर्यटन व्यवसायले क्रमिक रूपमा गति लिने व्यवसायीहरुको अपेक्षा छ ।

कोरोना संक्रमण रोकथामका लागी बन्द गरिएको आन्तरिक हवाई उडान सञ्चालन भएपछि हुने आवत–जावतले केही राहत मिल्ने भन्दै धनगढीका होटेल व्यवसायी पनि उत्साहित भएका छन् ।

गत चैत महिनायता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुने भएपछि व्यवसायीहरु पनि आन्तरिक तयारीमा जुटेका छन् । यद्यपि अन्तराष्ट्रिय नाका नखुलेसम्म र गोष्ठी, सेमिनारहरू नभएसम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको भनाइ छ ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ । आन्तरिक उडान सुरु भए सँगै धराशायी बनेको पर्यटन व्यवसायले अव भने क्रमिक रूपमा गति लिने व्यवसायीहरुको अपेक्षा छ ।

आन्तरिक हवाई उडान भएपछि बन्दाबन्दीका कारण सडक यातायातमा चर्काेमुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताउनुभयो । पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले आवागमनमा सहज हुने उहाँको भनाइ छ ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा उडान सुचारु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझैपनि छन् ।

कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् भने विमानस्थलले पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्