बहुमतसहित तयार हुँदै अविश्वासको प्रस्ताव


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ ।

शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । दाहाल–नेपाल पक्षले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए ।

‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ । यसलाई मैले चुनौतीको रूपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’, दाहालले बैठकपछि भने । उनले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए ।

शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । ‘अहिले एक सय ११ जना सांसदको हस्ताक्षर भएको छ । चारजना अझै आउँदै हुनुहुन्छ’, सांसद यज्ञराज सुनुवारले भने । उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले संसदीय दलको नेतामा दाहाललाई चयन गरिएको हो ।

दाहाल–नेपाल पक्षले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ । तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि दाहाल–नेपाल पक्षले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ । जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन । दाहालले भावी प्रधानमन्त्रीको विषय एक–दुई दिनमा टुंगो लाग्ने बताएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्