नेकपा विवाद : संसदीय दलको अंकगणित यस्तो छ


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । शुक्रबार नेकपा दाहाल–नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन ग¥यो । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५ जना सांसद रहेको दावी गरे । जबकी शुक्रबारको बैठकमा १०७ जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् । यद्यपि नेताहरु ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रिय सभा सदस्य आफूहरुको पक्षमा रहेको दावी गरेको छ । शुक्रबारको बैठकमा कृष्णबहादुर महरा, योगेश भट्टराईसहित ७ जना उपस्थित हुन नसकेको उनीहरु बताउँछन् ।

प्रचण्ड–माधव समूहले दलको नेता चयन गरेको भोलिपल्ट शनिबार नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । यो समूहले कति सांसद जुटाउँछ भन्ने हेर्न बाँकी छ । नेकपाको प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५० जना गरी कुल २२४ जना सांसद हुन् । उनीहरुमध्ये प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ र उनको ठाउँमा कोही चयन भएको छैन । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि मत दिन पाउँदैनन् ।

त्यसैले नेकपा संसदीय दलमा २२१ जनाले मतदान गर्न पाउँछन् र बहुमत पु¥याउन १११ जना सांसद चाहिन्छ । नेकपा दुई समूहमा विभाजित हुँदा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षतिर लागेका छैनन् । उनी राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् । गौतम दम्पतिजस्तै प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि कुनै पक्षमा खुलेका छैनन् । ‘म पार्टी एक हुनुपर्छ भन्नेमा छु’ उनले भने, ‘कुनै पक्षको संसदीय दल वा बैठकमा जान्न । संसदभित्र आफ्नो भूमिका निभाउँछु ।’

 

प्रतिक्रिया दिनुहोस्