काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमसँग भेट गरेका छन् । राष्ट्रिय सभागृहको कार्यक्रम सकिएलगत्तै गौतम निवास भैँसेपाटी पुगेका प्रधानमन्त्री ओलीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
केही समय अघिदेखि बिरामी रहेका गौतमलाई उनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
गौतम र प्रधानमन्त्री ओलीबीच अहिलेको राजनीतिक परिस्थितिबारे केही समिक्षा पनि भएको छ । नेकपा विभाजन भएपछि अलग्गै बसेका बामदेवले संगठन निर्माणको कामलाई गति दिएका छन् ।
उनी नेकपालाई पुनः एकताको बिन्दुमा पुर्याउनुपर्ने भन्दै छलफल बहस गरिरहेका छन् । प्रधानमन्त्री ओली पनि यतिबेला बामदेवको साथ चाहिरहेका छन् ।
यता, आज मात्रै बसेको दाहाल–नेपाल पक्षको बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बहुमत सदस्यहरुको निर्णयले प्रधानमन्त्री ओलीलाई कारबाही गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
आजै राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दाहाल–नेपालको कटाक्ष गरेर विप्लवको प्रशंसा गरेका थिए ।
प्रधानमन्त्रीले भनेका थिए, ‘म संसदीय दलको नेता यहाँ छुँ उता के तमासा चल्दैछ रे सुनेको छुँ । आफूसँग भएको दुई तिहाइलाई तिलाञ्जली दिएर साथीहरु अरुलाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै गुहारिरहेका छन् ।’
यता दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले शान्तिपूर्ण ढंगले राजीनामा दिनुपर्ने बताएको छ । ओलले नमानेमा गलत्याएर निकाल्ने दाहाल–नेपाल पक्षका नेताको तर्क छ ।
प्रधानमन्त्रीको भैँसेपाटीको आजको भेटबारे भने केही औपचारिक विषय बाहिर आएको छैन ।