राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री ओली बामदेव निवास भैँसेपाटीमा


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

यता, आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् ।

उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए । सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ ।

सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’

उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको समेत भन्न भ्याए ।

धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए ।

आफूले ८÷१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे ।

त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्