प्रधानमन्त्रीले विप्लव भेट्दा ठट्टा गरिहाले


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नवलपरासीबाट सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज बिहानै काठमाडौं पुगे । काठमाडौं पुगेलगत्तै उनी सामाखुसीस्थित एक होटेलमा आरामका लागि पुगे ।

उनले आफ्नो पार्टीका तर्फबाट सरकारसँगको वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’लाई भेटे ।

संक्षिप्त रुपमा भएको भेटमा प्रकाण्ड र दीपकले महासचिव विप्लवलाई सरकारका तर्फबाट भएका कुराहरुको ब्रिफिङ गरे ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका थिए ।

बादल विप्लवका नजिक र मन मिल्ने पात्र हुन् । सशस्त्रद्वन्द्वको समयमा पनि यी दुई नेता निकै मिल्थे । अहिले उनीहरु एकआपसमा भेट हुँदा उत्साहित भएका छन् ।

विप्लव सामाखुसीबाट सीधै प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । बालुवाटारमा उनको निकै स्वागत भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कुराउँदै विप्लवलाई हालखबर सोधे ।

यतिमात्र होइन, विप्लवलाई यो चार वर्षसम्म कहाँ बस्नुभयो, हामी खोज्दा भेट्टाएनौ समेत भन्न भ्याए ।

यो बीचमा प्रधानमन्त्रीको भेटघाट रुममा हाँसोको फोहोरा भएको थियो । प्रधानमन्त्रीले विप्लवसँग केही आन्तरिक विषयमा पनि जिज्ञासा राखेका थिए ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री ओलीको पार्टीमा उपाध्यक्ष बन्ने चर्चा चलेको छ । यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

प्रधानमन्त्रीसँग मिलेर जाने वा अलग्गै संगठनलाई चलायमान बनाउने भन्ने विषयमा विप्लव पार्टीको छलफलमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले विप्लवलाई आफूसँग रहन जोड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्