यस्तो छ विप्लवले मन्तव्य राख्ने सभाको तयारी


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।

उनी आउने कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सुरक्षा व्यवस्था बलियो पारिएको छ । आज प्रधनमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट भाषण गर्नेछन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।

प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आउने क्रममा छन् । नवलपरासीबाट काठमाडौँ आएर उनी सोझै बालुवाटार गएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।

‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले भने, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’

सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो । शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग विप्लवले राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ ।

तत्कालीन विद्रोही माओवादीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि यसअघि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्