बालुवाटारमा विप्लवको भव्य स्वागत, यस्तो रहेछ तयारी


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् ।

आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए ।

शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।

सम्बोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रमस्थलमा जानुहुन्छ ।’

प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् ।

राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।

सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् ।

विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो ।

विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् । सरकारी वार्ता टोली र विप्लवको वार्ता टोलीबीच बालुवाटारमै वार्ता भए पनि प्रधानमन्त्रीसँग भने भेट भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्