हवाइ भाडा बढ्यो– सबैभन्दा बढी धनगढी–काठमाडौं


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् ।

शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू ३५ देखि अधिकतम रू २२० सम्म भाडा बढेको छ ।

नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू ६७ पु¥याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रू ७२ पुगेको छ ।

हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर रू ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।

यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज रू २२० ले वृद्धि भई रू ३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज रू १७० ले बढेर रू २ हजार ४७० पुगेको छ ।

सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू २० ले बढेर रू ३०० पुगेको छ ।

अधिकांश सेक्टरको सरचार्ज रू ४० देखि रू ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्