काठमाडौंमा यहाँ बसे विप्लव, गृहकार्य भदौमै थियो


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । अन्ततः सरकारले विप्लव समूहमाथि २ वर्षअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विप्लव समूहको राजनीतिक गतिविधिमा प्रतिबन्ध फुकुवा भएसँगै शुक्रबार दिउँसो विप्लव र प्रधानमन्त्री ओली एउटै मञ्चमा देखिँदैछन् ।

विप्लव र सरकारको तर्फबाट बनाइएको दुई–दुई सदस्यीय वार्ता टोली ३ बुँदे सहमतिमा पुगेको छ । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो ।

दुई पक्षबीच भएको सहमतिअनुसार राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, विप्लव पक्षले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने रहेको छ ।

योसँगै सरकारले विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिइसकेको छ भने प्रतिबन्ध फुकुवा गरिसकेको छ । आफैले प्रतिबन्ध लगाएका प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा समारोह राखेर आफैंले फुकुवा गरेको घोषणा गर्दैछन् । सरकार र विप्लव पक्षबीच बिहीबार भएको सहमतिको ३ बुँदा गत भदौमै तयार पारिएको खुलेको छ ।

 

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने बुँदामात्र अहिले थपिएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले बताए । उनका अनुसार ३ बुँदे सहमति ७ महिनाअघि मोहन वैद्य, आहुति, ऋषि कट्टेल र विप्लव मिलेर तयार पारेका थिए ।

 

अध्यक्ष कट्टेलले भने, ‘सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने भनेर ३ बुँदामा सहमति गर्ने भन्ने थियो ।

अहिले आएर प्रधानमन्त्री र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने बुँदा थपिएको रहेछ ।’

गत भदौको अन्तिमतिरबाट सरकारसँग वार्ता गर्नेबारेमा छलफल भएको कट्टेलले खुलाए । भदौको अन्तिममा ऋषि कट्टेल र विप्लवले वार्तामा जानेबारेमा छलफल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने सुत्रधारको रुपमा कट्टेल लगायतले गरेका थिए ।

 

उनले भने, ‘हामीले यी–यी कुरामा छलफल गर्न सकिन्छ, अहिले देशलाई हिंसामा लैजान उपयुक्त छैन, तपाईहरुले पनि वार्ता गर्नुस् भन्यौं ।

सरकार पनि सकारात्मक थियो । पछि मोरङको मिक्लाजुङमा शिक्षक मारिएपछि वार्ताको समय पछि धकेलियो । त्यसपछि फेरि प्रक्रियाहरु अगाडि बढिरहे ।

 

मोहन वैद्य, आहुतिले सरकारसँग वार्ताका लागि सुत्रधारको भुमिका खेल्न लागेका थिए तर सरकारले विप्लवसँग सिधै छलफल गर्न चाहेको कुरा आयो ।’

भदौको अन्तिमदेखि सुरु भएको अनौपचारिक वार्ता प्रक्रिया गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा स्थानीय सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यापछि ब्रेक लागेको थियो ।

 

अहिले वार्ता हुनुअघि मोहन वैद्य ‘किरण’, ऋषि कट्टेल, आहुति र विप्लवबीच छलफल भएको थियो । छलफलमा सरकारबाट प्रतिबन्ध हटाउन लगाउने र शान्तिपूर्ण राजनीतिमा जाने भनेर वार्ता गर्ने कुरा भएको कट्टेलले बताए ।

सरकारसँग वार्ता सुरु गर्नुअघि गणतान्त्रिक मोर्चा बनाएका ४ नेताबीच छलफल भएको थियो । वार्ताको एजेण्डा सो मोर्चाले नै बनाएको उनको भनाइ छ । छलफलमा विप्लवसहित चारै नेता सहभागी थिए ।

 

‘छलफलमा संविधान, मूलधार सुलधार, हतियार सतियार केही पनि नभन्ने, शान्तिपूर्ण राजनीतिक आन्दोलनमा आउने, त्यति एउटा शान्तिपूर्ण भन्ने शब्द राख्दिने भन्ने सल्लाह भएको थियो,’ अध्यक्ष कट्टेलले भने, ‘उनीहरुको तर्फबाट प्रतिबन्ध फुकुवा गराउने र जेलमा रहेकालाई रिहाई गराउने भन्ने थियो त्यो बुँदा पनि राखेछन् ।

 

सरकारी पक्षबाट राष्ट्रियता इत्यादी शब्दहरू राखे पनि मान्दिनु भनेका थियौं । त्यो आएको ३ बुँदे सहमति हाम्रो गणतान्त्रिक मोर्चाले तय गरेको हो ।’

सरकारले ब्यापक रुपमा धरपकड गर्न थालेपछि नेता कार्यकर्ता जोगाउन विप्लवलाई चुनौती थपिएको थियो । एकातिर सक्रिय कार्यकर्ता प्रहरीले प्रक्राउ गर्ने र पक्राउ पर्नबाट जोगिएका कार्यकर्ता पनि सरकारको आक्रामक नीतिका कारण निष्क्रिय बन्न थालेपछि विप्लवको राजनीतिक शक्ति कमजोर बन्दै गएको थियो ।

कुनै न कुनै रुपमा उनी सरकारसँग एउटा सम्झौता गर्ने पक्षमा पुगेका थिए । प्रतिबन्धपछि सार्वजनिक सभा समारोहमा प्रधानमन्त्री ओलीको भाषणमा एक अंश हुने गथ्र्यो– विप्लव नेतृत्वको समूह, जसलाई उनी विध्वंशकारी, आतकंकारीको संज्ञा दिँदै चन्दाको नाममा लुटपाट गर्ने, बम विष्फोट गर्नेलाई सरकारले नछोड्ने बताउँथे ।

 

अघिल्लो वर्ष चैत १० गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विप्लवलाई नियन्त्रण गर्न राज्य लागिसकेको र सरकारसँग ब्याक गियर नभएको अभिब्यक्ति दिएका थिए ।

 

सरकारले लगाएको प्रतिबन्धको २ वर्षको बीचमा विप्लव समूहका हजारभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् भने अनिल बिरही, हेमन्तप्रकाश ओली सुदर्शन, माइला लामा लगायतका नेताहरुलाई मुद्दा चलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्