हेलिकोप्टर चढेनन विप्लव, यसरी आए काठमाडौ


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्।

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन्।

 

‘गृहमन्त्रीले हेलिकप्टरबाटै विप्लवलाई काठमाडौं ल्याउने प्रस्ताव राख्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ (विप्लव)ले हेलिकप्टरमा चढ्न नमानेपछि ‘क्यान्सिल’ गरियो, उहाँ आफैँ गाडीको व्यवस्था गरेर आउने कुरा भएको छ।’

गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर नचढ्ने निष्कर्षमा पुगेको एक नेताले बताए।

‘सरकारको तर्फबाट महासचिव कमरेडलाई जहाँ जुनसुकै अवस्थामा भएपनि हेलिकप्टरबाट लग्ने प्रस्ताव आयो,’ ती नेताले भने, ‘हेलिकप्टर चढेर जाँदा आमजनतामा राम्रो सन्देश नजाने भएपछि गाडीमै जाने निर्णय भयो।’

 

यता,नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लप नेतृत्वबीच हुन लागेको वार्तालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ताबाट निस्कने जुन पनि सहमति छ त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिष्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताए ।

उनले भने, “यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति काँग्रेसका लागि मान्य हुँदैन ।”

प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने काँग्रेसको दृढ मान्यता रहेको उनले बताए ।

हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको उहाँले विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्