एकताबारे नेकपाका दुवै पक्षका नेताको ४५ मिनेट छलफल


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए ।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन ।’

दोस्रो तहका नेताहरुले जिम्मेवारी पार्टीलाई एकढिक्का बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि यो विषयमा सकारात्मक देखिएछन् ।

तल्लो तहका नेताहरुले जिम्मेवारी लिएमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालले सल्लाहकारको भूमिकामा बस्नुपर्नेछ ।

यता, प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार गराएर फर्किएकाले अब अनौपचारिक छलफल हुने पार्टीका नेताहरु बताउँछन् ।

 

भारतबाट आएलगत्तै भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भट्टराईको भनाइलाई पार्टीका अन्य नेताले कसरी लिन्छन् यकिन छैन, तर जसपाका केही नेताहरु भने नेकपाको औपचारिक विभाजन र कांग्रेसको निर्णय कुरेर बसेका छन् ।

जसपाका नेता राजकिशोर यादव नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बिहीबारबाट छलफल प्रारम्भ हुने बताउँछन् ।

अहिलेसम्म जनता समाजवादी पार्टीका नेताहरुले नेकपा आधिकारिक रुपमा विभाजित नभएसम्म दुवै समूहलाई समर्थन गर्न नसकिने बताइरहेका छन् । प्रतिनिधि सभामा जनता समाजवादी पार्टीका ३२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्