नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदै


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन प्रधानमन्त्री ओलीले ठूलो भूमिका निर्वाह गरेका छन् । विप्लवलाई शान्ति प्रक्रियामा ल्याएर प्रधानमन्त्री ओली आफ्नै पार्टीमा राख्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री ओली र विप्लवसँगको टेलिफोन वार्तामा अनौपचारिक कुराकानी भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली र फागुनबीच अनौठो संयोग जुरेको छ ।

फागुनमा जन्मिएका ओलीले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको सुरुवात फागुनमै गरेका थिए । ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीका रुपमा सत्ता सम्हालेका थिए ।

प्रधानमन्त्री ओलीले फागुनमै सिके राउतलाई मूल धारको राजनीतिमा ल्याएका थिए । तराई मधेसमा पृथकतावादी गतिविधि गर्दै आएका राउतलाई ओली सरकारले २०७५ फागुन २४ गते ११ बुँदे सहमति गर्दै राष्ट्रिय राजनीतिको मूल धारमा ल्याएको हो ।

यतिमात्र होइन, ओली सरकारले विप्लव समूहमाथि फागुनमै प्रतिबन्ध लगाएको थियो । २०७५ फागुन २८ गते सरकारले विप्लव समूहमाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहलाई ओली सरकारले फागुनमै सहमतिमा ल्याएको छ । दुवै समूहले फागुनमै वार्ता टोली गठन गरेका थिए भने २०७७ फागुन २० गते सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हो ।

ओलीको समर्गौला प्रत्यारोपण पनि फागुन मै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्