प्रधानमन्त्री ओली र विप्लवले सम्बोधनको तयारी गर्दै


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको हो ।

सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यता, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् ।

ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे ।

लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई प्रधानमन्त्री ओलीको ठुलो सफलता मानिएको छ ।

बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ ।

यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।

मूल धारको राजनीतिबाट पृथक बाटोमा हिँडेका सिके राउत र विप्लव समूहलाई सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिक गतिविधिमा केन्द्रित तुल्याउन ओली सरकारले निर्वाह गरेको भूमिकालाई धेरैले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्