कोरोनामुक्त भएपछि योगसाधना


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपालमा कोभिड संक्रमण न्यूनीकरणका लागी गरिएको लकडाउनअघि बन्द सभाहलमा हुने गरेका योगा–साधना अहिले खुल्ला स्थानमा हुन थालेका छन् ।

खुल्ला ठाउँमा संक्रमणको जोखिम कम हुने भएकोले नवलपुरमा सडक नै योगा अभ्यास गर्ने स्थल बनेको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु भन्ने भनाइ विश्वव्यापी भनाइ हो ।

अहिलेको विश्व परिवेशमा रोग र संक्रमणबाट जोगिन सक्नु चुनौती पनि छ तर रोगलाई नियन्त्रण गर्न योग–ध्यान, व्यायाम–प्रणायाम लगायतका शारीरिक र आध्यात्मिक अभ्यासका क्रियाकलापले महत्वपूर्ण भुमिका खेल्ने योगाका साधकहरु बताउँछन् ।

सामाजिक दूरी कायम गर्दै कावासोतीको ओम शान्ती टोलको सडकमै योगा–साधनाका नियमित क्रियाकलाप हुने गरेका छन् । लामो समयको बन्दाबन्दीमा तनाव महशुस गरेकाहरु योगालाई निरन्तरता दिँदा अहिले दैनिकीमा सहज भएको र दिनचर्या नै फेरिएको बताउँछन् ।

विश्व नै प्रभावित पार्ने गरी देखा परेको कोरोना महामारीले नेपाली जनजीवनमा समेत असर पारेता पनि मानसिक तनाव कम गर्ने, शारीरिक तन्दुरुस्त रहने, स्वास्थ्य र सरसफाईमा ध्यान पुर्याउने जस्ता सचेतनामा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्