प्रतिकात्मक तस्बिर काठमाडौं । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।
देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो ।
तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।
यो नेपालको लागि पहिलो कार्यक्रम हो । आयोजकका अनुसार आफ्नो श्रीमतीप्रति श्रीमानको अगाध माया प्रेम रहोस् भनेर यो प्रतियोगिताको आयोजना गरिएको हो ।
यसमा सहभागी हुनका लागि कुनै उमेर समूहलाई छुट्याइएको छैन । आफूलाई इच्छा लागेमा सहभागिता जनाउन सकिने आयोजकको भनाइ छ ।
यो कार्यक्रमका लागि तयारी शुरु गरिएको आयोजकले जनाएको छ । नयाँ खाले कार्यक्रम भएको स्थानीय जोडी खुसी भएका छन् ।
कार्यक्रममा सहभागिता जनाउने र भव्यताका साथ सम्पन्न गर्ने स्थानीयको भनाइ छ । उनीहरुले बाहिरबाट आएर पनि सहभागिता जनाउन सबैलाई अपिल गरेका छन् ।