विप्लव र सरकारबीच वार्ता शुरु, को–को छन् उपस्थित ?


ओकेजनता डेस्क
१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ ।

वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

यता, सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ ।

पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिएको बताए ।

गुरुङले मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन गरेर वार्ता समिति गठन गरिएको जानकारी दिएका हुन् ।

सरकारी वार्ता समिति घोषणा भएलगत्तै भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि वार्ता समिति बनाइएको जानकारी दिएका छन् ।

उनले प्रेस वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य प्रेम चलाउने ‘दिपक’ सदस्य रहेको समिति बनाइएको उल्लेख गरेका छन् ।

कार्यकर्ताको रिहाइ अघि प्रहरी प्रधान कार्यालयलाई समूहका थप नेता, कार्यकर्ताको गिरफ्तारी तत्काललाई रोक्न निर्देशन दिने तयारी समेत भएको स्रोतको दाबी छ ।

गृह स्रोतका अनुसार प्रतिबन्ध फुकुवाको प्रस्ताव गृहमन्त्री बादलले चाँडै मन्त्रिपरिषद् बैठकमा लैजाँदैछन् ।

सरकारका प्रवक्ता गुरुङले पनि चाँडै प्रतिबन्ध फुकुवा हुने बताएका छन् । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटकपटक समूहसँग वार्ताको वातावरण बनाइने बताउँदै आएका छन् ।

प्रतिबन्ध फुकुवापछि वार्तामा आउन आश्वस्त पार्न सरकारले थुनामा रहेका समूहका केही नेता, कार्यकर्तालाई छाड्ने तयारी गरेको गृह स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्