दाहाल–नेपालसँग यी एजेण्डा, देउवालाई एमसीसीको चिःन्ता


ओकेजनता डेस्क
१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि दाहाल–नेपाल पक्षका नेताले दौडधूप गरिरहेका छन् ।

आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा दाहाल–नेपाल पक्षले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यता, ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटन बदर गरेपछि नयाँ सरकार गठन, सत्ता समीकरणका अभ्यासलाई लिएर उनीसँग विभिन्न व्यक्ति, दल र समूहका परामर्श चलिरहेका छन् ।

सत्तारुढ नेकपा विभाजित भइरहेको स्थितिमा देउवामाथि आँखा लगाउने एउटा समूहसँग उनले भनेका छन्, दाहाल–नेपाल भन्दा मेरा लागि केपी ओली नै ठीक ।

यसो भन्नुका पछाडि तर्क छ– एमसिसीसँग जोडिएको । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसिसी)’ उहाँ प्रधानमन्त्री रहनुभएको बेला सम्झौता भएको तर संसदबाट अहिलेसम्म अलपत्र परेको विषयलाई अल्झाइदिएको प्रति उहाँको ठूलो चिन्ता रहेछ ।

‘अन्तर्राष्ट्रिय जगतमा मेरो क्रेडिबिलिटी (विश्वसनीयता) बिगार्ने काम जसले गर्छ, त्यसलाई साथ दिन्नँ । त्यो सपार्ने काम प्रचण्डहरुबाट हुँदैन, ओलीबाटै हुन्छ,’ उनले नयाँ सत्तासमीकरणका विषयमा कुरा गर्न पुगेको एउटा राजनीतिक समूहसँग केही दिनअगाडि मात्रै यसो भनेका छन् ।

नत्र, पाँचौं पटक प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन ।

तर, एमसिसी पारित नहुँदा उनको मन कति पोलेको रहेछ भन्ने यो अभिव्यक्तिले पनि जनाउँछ । तर जसलाई जे जवाफ दिए पनि अब सदनमा पेश हुने प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आगामी प्रधानमन्त्रीका रुपमा वैकल्पिक नामचाहिँ शेरबहादुरको हुनैपर्छ ।

यदि उनले प्रधानमन्त्री बन्न माने भने पुरानो प्रस्तावमा उनकै नाम मुख्य बनेर जान्छ, नभए पनि वैकल्पिकमा त जान्छ–जान्छ । यदि, मुख्य व्यक्तिका रुपमा उनी अगाडि सारिए भने त अर्को प्रधानमन्त्रीको कल्पना नै हुँदैन ।

शेरबहादुर आफ्नो मूल सरोकार रहेको विषय (एमसिसी) का सन्दर्भमा नेकपाको दुबै समूहमध्ये जसले साथ दिन्छ, समर्थन पनि त्यसैलाई गर्ने, तर एमसिसी पारितको शर्त अगाडि राखेर त्यो प्रस्ताव सदनबाट पारित नहुँदासम्म सरकारमा सहभागी नहुने रणनीतिमा छन् भनिन्छ ।

त्यसक्रममा अहिलेसम्म उनले प्रचण्डहरुलाई विश्वास गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्