संसद भवनतिर लागे सभामुख सापकोटा आज यस्तो तयारी


ओकेजनता डेस्क
१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभा बैठकका लागि भएको तयारीको अवलोकन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा गएर प्रतिनिधि सभा बैठकका लागि भइरहेको तयारी बारे स्थलगत अवलोकन गरि जानकारी लिने सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुर्नस्थापना गर्दै १३ दिनभित्र बैठक सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउसो ४ बजेका लागि प्रतिनिधि सभाको सातौं अधिवेशन आह्वान गरेकी छिन् ।

अदालतले संसद पुनःस्थापना गर्ने आदेश दिएपछि संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठकका लागि प्रशासनिक, भौतिक तथा प्राविधिक तयारी थालेको थियो ।

सर्वोच्चको फैसलापछि अब नियमित संसद चल्नेछ । जनताको दुईतिहाइ जनमत पाएको नेकपा विघटित भएसँगै संसदमा अब प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्नुपर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । यता नेकपा दाहाल–नेपाल पक्षले जसरी पनि प्रधानमन्त्रीलाई सत्ता च्यूत गराउने रणनीति लिएका छन् ।

फागुन २३ गते संसदको प्रारम्भ हुने भएको छ । संसदलाई कसरी फेस गर्ने र आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ नेकपाका दुवै पक्ष लागेका छन् ।

यता, नेपाली कांग्रेस जसपा लगायतका दल पनि संसदमा आफ्नो भूमिका कस्तो बनाउने भन्नेमा कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्